आमजनतामा असुरक्षा भाव, अन्योल र मानव अधिकार अवस्थाप्रति बढिरहेको चिन्ताका सन्दर्भमा हाम्रो चासो

२०८० मङ्सिर ६ गते

 

१. स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधान सभाबाट जारी भएको नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको छ । कुनै पनि बहानामा चालिएको जनताको शान्तिपूर्ण रूपमा खुला र सार्वजनिक रूपमा आफ्ना असन्तुष्टि अभिव्यक्त गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने वर्तमान लोकतान्त्रिक संविधान विरुद्धको कदमको हामी विरोध गर्दछौँ ।

२. गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरु हुन् । हामी प्रमुख राजनीतिक दल र शीर्षस्थ नेताका कृयाकलापप्रति खबरदारी गर्दै उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका कार्यसूचीहरूको स्मरण गर्न आव्हान गर्दछौं । साथै, नेपालको वर्तमान राज्य संरचना र संविधान विरोधी कृयाकलापप्रति गम्भीर असहमति जाहेर गर्छौँ ।

३. मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई हामी आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दछौँ । विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै भोलि साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ ।

Kundan aryal sign

 

 

 

डा. कुन्दन अर्याल
अध्यक्ष