२०७९ साउन १४ गते
२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई
इन्सेक कार्यसमितिको २०७९ साउन ५ गते सम्पन्न बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई “२८ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले श्री भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसक्नु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा २०७९ साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL